इलाम । अन्तर सरकारी समन्वय र संघीयताको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कोशी प्रदेशका दुई नगरपालिकामा अन्तक्र्रिया सम्पन्न भएको छ ।
कोशी प्रदेशस्थित इलामको सुर्योदय नगरपालिका र मोरङको सुन्दरहरैँचा नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीको उपस्थितिमा सो सम्बन्धमा अन्तक्र्रिया भएको हो । अन्तक्र्रियाको समन्वय भने मन्त्रालय अन्तर्गत्को प्रदेश तथा स्थानीय शासन कार्यक्रम (उनिकउ)ले गरेको थियो ।
अन्तक्र्रियाका क्रममा दुवै नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरुले कार्य सम्पादनका भोगिरहेका समस्या र अनुभवहरु आदान प्रदान गरेका थिए । सुर्याेदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले मन्त्रालय अन्तर्गत्को प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (उनिकउ) मार्फत् कोशी प्रदेशस्थित प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईसँगको सहकार्यमा
इलामको सुर्योदय नगरपालिकामा प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई र नगरपालिकाबीच नवप्रवर्तन साझेदारी कोषबाट कार्यान्वयन भइरहेको परियोजनाको बारेमा जानकारी गराएका थिए ।
सुर्योदय नगरपालिकाका प्रमुख दुर्गा कुमार बरालले मन्त्रालयले स्थानीय तहसँग संघीयताको कार्यान्वयन र अन्तर सरकारी समन्वयका सन्दर्भमा गरेको अन्तक्र्रियाले संघीयताको मर्म र भावना स्थापित गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरे । “माननीय मन्त्रीज्युले जुन ढंगले संघीयता कार्यान्वयनमा तदारुकता देखाउनुभएको छ, यसको हामी प्रशंसा गर्न चाहन्छौँ” उनले भने, “संघीयताको मुल जग भनेको स्थानीय तह हो, यस्ता कार्यक्रमले संघीयताको कार्यान्वयन प्रभावकारी बन्छ ।”
मोरङको सुन्दरहरैँचामा आयोजित अन्तक्र्रियामा प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले नगरपालिकाले हालसम्म प्राप्त गरेको उपलब्धि, निर्माणाधीन परियोजना र जटिलताको सन्दर्भमा प्रस्तुती राखेका थिए । नगर प्रमुख केदार प्रसाद गुरागाईले नगरपालिकाका समस्या र समाधानका सन्दर्भमा मन्त्रालयले देखाएको चासोको प्रशंसा गरे ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटाले संघीयताको सुदृढीकरणका लागि भइरहेको अन्तक्र्रियाले सरकारको नीति निर्माणमा सहयोग पुग्ने बताए ।
दुवै नगरपालिकाको अन्तक्र्रियालाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सबै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । संघीयताको प्रभावकारी कार्यान्वयन र अन्तर सरकारी समन्वयमा सहजीकरण आफ्नो मन्त्रालयको प्राथमिकताको विषय भएको बताउँदै मन्त्री मोदीले भने, “संघीयतालाई कसरी मजबुत बनाउने, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई कसरी प्रभावकारी र सुदृढ बनाउन सकिन्छ भनेर हामी अहिले अन्तक्र्रियामा छौँ ।”
स्थानीय तहको सबलीकरण गर्दै संघीयतालाई बलियो बनाउने विषय अहिलेको सरकारको प्राथमिकताको विषय भएको उनको भनाई थियो । स्थानीय तहमा देखिएका नीतिगत समस्याहरु आफ्नो मन्त्रालयले हल गरिदिने समेत मन्त्री मोदीले बताए ।
पर्यटन प्रवद्र्धनमार्फत् स्थानीय जनताको आयस्तर वृद्धि गर्ने र आफ्नो पालिकाको आयश्रोत वृद्धि गर्नेतर्फ समेत स्थानीय तहले ध्यान दिनुपर्ने मन्त्री मोदीको भनाई थियो । मन्त्री मोदीले संघीय सरकारले अभिभावकीय भूमिकामार्फत् सबैसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने समेत विश्वास व्यक्त गरे ।
अन्तक्र्रियाको अवसरमा मन्त्री मोदीले नगरपालिकाभित्रका विभिन्न परियोजनाहरुको समेत अवलोकन गरेका थिए ।