राष्ट्रिय सभाका पूर्वसचिव स्व. राधेश्याम भट्टराईप्रति संसद सचिवालयले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
बिहीवार संघीय संसद सचिवालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय सभाका पूर्वसचिव स्व. राधेश्याम भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो । वि.सं. २००६ साल असार १९ गते जन्मनुभएका भट्टराईको वि.सं. २०७९ साल असोज ५ गते निधन भएको थियो । वि.सं. २०२८ साल वैशाख १२ गतेदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको उहाँ २०५७ साल असार २० गतेदेखि २०६२ साल भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले पूर्वसचिव भट्टराईले संसद सेवामा पु¥याउनुभएको योगदान र उहाँको असल व्यक्तित्व आफूहरुका लागि प्रेरणादायी भएको बताउनु भयो । पूर्वसचिव भट्टराईको नेपाली भाषा र साहित्यमा समेत उल्लेखनीय योगदान रहेको उहाँले बताउनु भयो ।
श्रद्धाञ्जली कार्यक्रममा संसद सचिवालयका कर्मचारीहरु, स्व. भट्टराईका परिवारका सदस्य तथा उहाँसँग नजिकबाट संगत गर्नेहरुको उपस्थिति रहेको थियो ।