काठमाडौं, असोज १३ गते । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा काँग्रेस भित्रै सही मूल्यांक नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिनुभयो । उहाँले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताउनु भयो । नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली काँग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।