तेह्रथुम, २२ मंसिर धनक्टाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी भएको छ । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेको लागि तयारी भएको हो ।
हिउँदमा धुलाम्य र वर्षात्मा हिलाम्य सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिक सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । करिब तीन दशकअघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा नागरिकहरूले सास्ती भौग्दै आएका थिए ।
कोसी राजमार्गसँगै जोडिएको सिधुवा शुक्रबारे ओख्रे सडक कालोपत्रे हुने भएपछि नागरिककाे अवस्था फेरिने भएको छ । ९ मंसिर २०७६ मा प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । सडकमा यतिबेला तीव्र रूपमा कालोपत्रे भइरहेको छ । ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रा.लि.ले सडक निर्माणको काम गर्दै आएको छ । सडकमा कटिङ, ग्याबिङ,नालि निर्माणलगायतका काम सम्पन्न गरेसँगै कालोपत्रेका लागि तयारी भएको कम्पनीका इन्जिनियर मिनराज तामाङले बताए । उनका अनुसार आगामी असारसम्ममा सधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे निर्माण कार्य सम्पन्न गर्न कम्पनी लागिपरेको छ ।
यो सडक ७० करोड लागतमा कालोपत्रे भइरहेको छ । सडक बनेपछि जिल्लाको छथर क्षेत्रका साथै छिमेकी जिल्ला धनकुटा र पाँचथरका नागरिकहरूले सेवा पाउने भएका छन्। दैनिक चारवटा बसका साथै साना तथा ठूला सवारीसाधान सञ्चालन हुँदै आएका छन् । स
सडक सञ्चालनमा समस्या हुँदा वर्षाैदेखि भोग्दै आएको समस्याबाट मुक्त पाएको स्थानीय शुक्रराज लिम्बूले बताए । उनी भन्छन्, ‘हिउँदमा धुलाम्य र वर्षात्मा हिलाम्य हुने सडक कालोपत्रे भएपछि हामीले विगतमा भोग्दै आएको समस्या समाधान हुने भएको छ । सडक सञ्चलनमा समस्या हुँदा हामीले गाउँमा बिरामी हुँदा बोकेरै सिधुवा पुर्याउनुपर्ने बाध्यता पनि हट्ने भएको छ । ’सडक निर्माणसँगै सवारीसाधान सञ्चालनका साथै स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य वस्तु दुग्ध पदार्थ ढुवानीमा सहज बन्ने भएको छ ।