विराटनगर, २९ माघ ।
मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गर्ने तयारी गरिएको छ ।
गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।
तर, यस सिजनको विजेताले पाउने पुरस्कारको राशि वृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए । उनले भने, ‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीका साथ पुरस्कारको राशी पनि बढाउने सोच बनाएका छौं ।’
यसपटक कम्तिमा विगतको तुलनामा पुरस्कार राशि ४–५ लाख वृद्धि हुने उनले बताए । उप विजेता हुने टिमले पनि कम्तिमा ३ लाख बढी पुरस्कार पाउनेछ । पुरस्कार राशिबारे चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि कोइरालाले बताए ।
यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुँदै छ । खेलहरु रातिको समयमा फलर्ड लाइटमा सञ्चालन हुनेछन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुनेछ ।