निर्वाचन आयोगमा अनन्तराज घिमिरेको नेतृत्वमा दर्ता रहेको ‘हाम्रो नेपाली पार्टी’ले स्वतन्त्र उम्मेदवारहरुलाई लौरो चिन्ह बाँड्दै हिँडेको पाइएपछि निर्वाचन आयोगले घिमिरेलाई तीनदिने स्पष्टीकरण सोधेको छ।
आयोगमा दर्ता रहेको घिमिरेको दललाई प्रदान गरिएको चुनाव चिह्न ९लौरो० स्वतन्त्र उम्मेदवारहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको भन्दै आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो।
आयोगको स्ष्टीकरणसँगै अब लौरो चिन्ह स्वतन्त्र उम्मदेवारको नरहेको स्पष्ट भएको छ र ‘स्वतन्त्र लौरो अभियान’ को च्याप्टर क्लोज भएको छ।
दललाई प्रदान गरिएको निर्वाचन चिह्न स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने हुँदा दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिष्पर्धाको सिद्धान्त विपरीत देखिएको आयोगको ठहर छ।
यसले आम जनमानसमा भ्रम तथा अन्यौल सिर्जना गर्ने भएकाले त्यस्ता भ्रामक कुराहरु प्रचार प्रसार नगर्न नगराउन र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न भनी राखिएका सामग्रीसमेत तुरुन्त हटाउन आयोगले घिमिरेलाई निर्देशनसमेत दिएको छ।
साथै सो विषयमा तीन दिन भित्र आयोगमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई आदेश दिएको छ।
अनन्तराज घिमिरेको अध्यक्षमा ‘डमी पार्टी’ खडा गरेर लौरो चिन्ह बुकिङ गरिएको स्वतन्त्र अभिन्यताहरुले बताउँदै आएका थिए ।
स्वतन्त्र उम्मेदवारका अभियन्ता एवं काठमाडौं ८ का स्वतन्त्र उम्मदेवार सुमन सायमीले लौरो चिन्ह लिएर चुनाव लड्ने तयारी गरेका थिए । घिमिरेले कतिपय उम्मेदवारहरुलाई लौरो चिन्ह प्रयोग गर्न दिने भन्दै सहमति पत्रमा हस्ताक्षरसमेत गराएका थिए । साथै समानुपातिकतर्फ लौरोमा भोट हाल्ने गरी संघ र प्रदेशमा उम्मेदवारीसमेत मनोनयन गराइसकिएको थियो ।
अब निर्वाचन आयोगले घिमिरेलाई स्वतन्त्र अभियन्ताका रुपमा भ्रम नफैलाउन आयोगले निर्देशन दिएपछि स्वतन्त्र उम्मदेवारले लौरो चिन्ह प्रयोग गर्न नपाउने भएका छन् । आयोगको कडाइसँगै अब ‘स्वतन्त्र उम्मेदवारको लौरो अभियान’ को च्याप्टर क्लोज भएको छ ।
हेर्नुहोस् आयोगको विज्ञप्ति–