काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र प्रदेश तथा स्थानीय सहयोग कार्यक्रम (plgsp) का साझेदारीबीच भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारस्थित् मन्त्री मोदीको कार्यकक्षमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको विकास साझेदारको रुपमा रहेका स्विट्जरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य बेलायत र युरोपियन युनियनका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो ।
भेटमा स्विट्जरल्याण्ड राजदूतावासका काउन्सिलर एवं उपनियोग प्रमुख सिल्भाना होग, युरोपियन युनियनका काउन्सिलर एवं समन्वय प्रमुख डा. मार्को जेमर, नर्वे राजदूतावासका काउन्सिलर अफ गभर्नेन्स एनिला खान र ब्रिट्रि राजदूतावासका कार्यवाहक विकास निर्देशक एन्ड्रयु लङ उपस्थित थिए ।
भेटका क्रममा विकास साझेदारी प्रतिनिधिमण्डलले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रम (plgsp)को निरन्तरता, कार्यक्रमको ढाँचाको पुनरावलोकन तथा त्रैमासिक रुपमा कार्यक्रमको विस्तृत समीक्षा गर्नुपर्ने लगायतका विषयमा सामुहिक धारणा राखेका थिए ।
मन्त्री मोदीले प्राप्त सुझाव र सल्लाहका आधारमा प्रदेश तथा स्थानीय सहयोग कार्यक्रम (plgsp)लाई थप परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । यो कार्यक्रमको लक्ष्यहरु, अवधारणा, अन्तिम प्रभाव र सान्दर्भिकता बाँकी नै रहेकाले यसको एक वर्षको लागि प्रस्ताव गरिएको संक्रमणकालीन वर्ष र त्यस पछिको कार्यक्रमको बहुवर्षीय विस्तारका लागि समेत विकास साझेदारीहरुको सहमति सरकारले अपेक्षा गरेको मन्त्री मोदीले बताए ।