इस्लामाबाद, १३ मंसिर पाकिस्तानी तालिबानले सरकारसँग भएको शान्ति सम्झौता अन्त्य भएको घोषणा गर्दै देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ । ‘विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले सम्पूर्ण देशमा जहाँ भए पनि आक्रमणहरू गर्नु आवश्यक छ’ सोमबार राति टीटीपीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।
सन् २००७ मा प्रभावमा आएपछि पाकिस्तानभर भएका दर्जनौं हिंसात्मक हमला र सयौँको मृत्युमा तेहरिक– इ–तालिबान पाकिस्तान (टीटीपी) समूह जिम्मेवार छ ।सन् २०१० मा ठूलो संख्यामा तालिबान लडाकुहरूलाई पाकिस्तानबाट छिमेकी अफगानिस्तानमा धपाइएको थियो । तर, काबुलमा अफगान तालिवानको सत्तामा फर्किएपछि उनीहरूलाई हौसला मिलेको छ । जुनमा टीटीपीले पाकिस्तान सरकारसँग युद्धविराम गरेको थियो । तर, सम्झौता उल्लंघन भएको दुबै पक्षले एक अर्कामाथि आरोप लगाउँदै आएका थिए र विभिन्न स्थानमा अनगिन्ति झडप भएका थिए ।